जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

२१ माघ २०७९, शनिबार। जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन् । 

स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्‍घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी मन्त्री गिरीले यस क्षेत्रका विकृति र विसंगति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए । '' नेपालको स्वास्थ्य क्षेत्र विकराल छ । जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।  यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्‍ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,'' मन्त्री गिरीले भने,''हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ ? गरिबले पनि कसरी गुणस्तयरीय सेवा पाउन सक्छन् । यस विषयमा खोज गरेर कलम चलाइदिनुस् । हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् । ''

उनले थपे, ''स्वास्थ्य क्षेत्रका बेथिति, भ्रस्ट्राचार र अपारदर्शिताविरुद्ध  निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठूलो योगदान हुन्छ । हामी जिम्मेवारीमा छौं,  तपाईहरूले हामीलाई खबरदारी गर्नुपर्छ ।''

स्वास्थ्य क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्‍त्रालय सम्हालेको मन्त्री गिरीले बताए । '' हामीले ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौं । एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सिमा छन् । तर आम जनताले महसुस गर्नेगरी काम गर्नेछौं,'' उनले भने,''पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौं । अहिले अध्ययनमै छौं ।''

Comments