वेमेन्स रुम्स् रिलोटेड (WRR) को सहकार्यमा असोज १० गते रिलिज हुने फिल्म ‘रातो टिका निधारमा’ले त्रिनेत्र फाउन्डेसनलाई सहयोग गरेको छ । फिल्मका टिमले त्यहाँ रहेका दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई दशैँको टिका र जमरा लगाएर नयाँ कपडा उपहार दिँदै खाना खुवाएका थिए ।
पहिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा साम्राज्ञी भावुक भइन् । ‘मैले अहिलेसम्म यस्तो खालको सहयोग गरेको थिइन् । पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निमित्त सानो सहयोग गर्न पाउँदा खुसि लागेको छ ।’ भावी दिनमा समाज सेवामा आउने योजना रहेको बताउदै साम्राज्ञीले सहि समयको पर्खाइमा रहेको बताइन । ‘सामाजिक कार्यमा लाग्नलाई पहिले त मनैदेखि तयार हुनु पर्दछ । त्यसैले अहिले नै सबै ठाउँमा हात हाल्ने अवस्था छैन । भावी दिनमा अवस्य पनि तन-मन लगाएर सामाजिक कार्यमा हिड्नेछु’, साम्राज्ञीले भनिन् ।
दशैँको छेकोमा अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा निर्देशक अशोक शर्माले आफ्नो बाल्यकाल सम्झिए । ‘दशैँ भन्न वितिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नु पर्थ्यो । अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानि ठान्छु ।’ निर्देशक शर्माले भावुक स्वरमा भने ।
यस्तै ‘रातो टिका निधारमा’बाट डेब्यु गरेका अंकित शर्माले यस्तो खालको सहयोगले मनमा सन्तुष्टि मिल्ने बताए । ‘कुनै बेला कपडा लगाउन दशैँ कुर्ने मेरो बुबाले हामीलाई यस्तो अभाव हुन दिनु भएन । तर, आज आएर असहायहरुलाई सहयोग गर्न पाउँदा मनैदेखि सन्तुष्ट भएको छु ।’ अंकितले भने ।
उता भावुक बनेका अभिनेता रविन्द्र झाले पनि आफ्नो सानो सहयोगले कसैको जीवनमा ठुलो खुसि ल्याउने राय व्यक्त गरे । ‘यसपटकको दशैँ ‘रातो टिका निधारमा’ विशेष हुनेछ । हामीले सम्पूर्ण नेपालीको कथा बोकेर आएका छौँ । आशा छ, हाम्रो फिल्मले सबैलाई समेट्ने छ ।’ झाले भने ।
किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ । रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा फिल्मले भन्नेछ ।
Comments