महिला रोगमा यसकारण उपयोगी छ ल्याप्रोस्कोपी सर्जरी

महिला रोगमा यसकारण उपयोगी छ ल्याप्रोस्कोपी सर्जरी

स्त्री, प्रसुती तथा नि:सन्तान रोग विशेषज्ञ डा‍. राजन राजन शाह नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा ल्याप्रोस्कोपिक सर्जनका रुपमा आबद्ध छन् । यस अस्पतालले न्युन शुल्कमै अत्याधुनिक उपकरणसहितको ल्याप्रोस्कोपी विधिबाट सर्वसाधारणलाई सेवा उपलब्ध गराइरहेको छ । ल्याप्रोस्कोपिक सर्जन डा. शाहले देशका विभिन्न सरकारी तथा निजी अस्पतालमा आबद्ध भएर सेवा दिइसकेका छन् । उनी विभिन्‍न दुर्गम जिल्लामा गएर समेत स्त्री रोगको उपचार गर्छन् । काठमाडौंलगायत ठूला शहरमा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरेर धेरैले पेट तथा महिला रोगको उपचार सहज रूपमा पाइरहेको भएपनि दुर्गम क्षेत्रमा अझै पनि ल्याप्रोस्कोपी सेवा नपुग्दा सानो समस्याका लागि पनि पेट चिरफार गर्नुपर्ने अवस्था कायम रहेको शाह बताउँछन् । दुर्गम इलाकामा पनि यो सेवालाई बिस्तार गर्न सकिए धेरैभन्दा धेरै जनताको उपचार सहज हुने उनको बुझाई छ । ल्याप्रोस्कोपी विधि के हो ? यो कत्तिको सुरक्षित र भरपर्दो छ ? यस विषयमा शाह भन्छन् :

ल्याप्रोको अर्थ पेट हो । शरीरको भित्री अंगमा भएका समस्याहरुलाई टेलिस्कोप क्यामेरामार्फत नियाल्ने र उपचार गर्ने विधि ल्याप्रोस्कोपी प्रविधि हो । यस विधिबाट स्त्रीरोग, हाडजोर्नी, पिसाब सम्बन्धी समस्या, पाचनप्रणाली र नाक–कान घाँटी सम्बन्धि उपचार गर्न सकिन्छ । तर, स्त्री रोगको उपचारमा यसको प्रयोग जति बिस्तारित हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन ।

दुर्गममा पनि यस विधि प्रयोग गर्ने हो भने धेरैले सरल उपचार पाउँथ्यें । यद्यपी, काठमाडौंलाई छाड्ने हो भने कतिपय शहरहरुमा अझै पनि पेट चिरेरै अप्रेशन गर्ने गरिन्छ ।

महिलाहरु पेट तथा पाठेघर सम्बन्धी विभिन्न समस्याबाट ग्रस्त भइरहेका हुन्छन् । कसैको महिनावारी नियमित भइरहेको हुँदैन, कसैको बच्चा हुँदैन, कसैको बच्चा जन्माउने क्रममा स्वास्थ्यमा गडबढी देखिन्छ, कसैको बच्चा भइसकेपछि पनि समस्या देखिन्छ । यस्ता समस्याहरुको निदानका लागि शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा ल्याप्रोस्कोपी प्रविधिबाट निकै ठूलो सहयोग मिल्छ ।

कसरी गरिन्छ ?
ओपन सर्जरी गर्दा पेट चिरेर गर्ने गरिन्छ । महिला रोगअन्तर्गत पाठेघरमा मासु पलाएको छ भने यसरी पेट चिरेर, त्यसलाई काटेर फाल्नुको विकल्प केही वर्षअघिसम्म थिएन । यसक्रममा कतिपयको पेट १० सेन्टिमिटर, कसैको १५ सेन्टिमिटर र ट्युमर धेरै छ भने २०–३० सेन्टिमिटरसम्म पनि चिर्ने गरिन्थ्यों ।

पेट सम्बन्धि अन्य विभिन्न समस्यामा पनि यसरी नै उपचार गरिन्थ्यों । यसरी पेट चिर्दा बिरामीलाई कति गाह्रो हुन्छ होला ? त्यो हामी सबैले कल्पना गर्नसक्छौं ।

ल्याप्रोस्कोपीमार्फत शल्यक्रिया गर्दा दुरबिन प्रविधिबाट झन्डै एक सेन्टिमिटरको एउटा सानो प्वाल पेटमा बनाइन्छ । यसपछि हामी टेलिस्कोपलाई पेटभित्र छिराउँछौं र सबै अंगहरुको अनुगमन त्यसमार्फत गर्छौ ।

हामीले अन्य दुईवटा माइनर पोर्ट पनि खोल्छौं, यी माइनर पोर्टहरु झन्डै ० दशमलव ५ सेन्टिमिटरका हुन्छन् । यसरी स–सना प्वाल बनाएर हामीले उपचार गर्छौ । पाठेघरमा मासु पलाएकोे, गर्भनलीभन्दाबाहिर बच्चा बसेकोलगायत विभिन्न रोगहरुको उपचार यसमार्फत गर्न सकिन्छ । बाँझोपन र क्यान्सरको उपचार पनि ल्याप्रोस्कोपी विधिबाट गर्न सकिन्छ ।

कत्तिको सुरक्षित छ ?
यसमा पेट काट्नुपरेन । दुलोमात्रै बनाएर ल्याप्रोस्कोपीकै लागि डिजाईन गरिएका उपकरण (क्यामेरा) को माध्यमबाट मोनिटरमा हेरेर उपचार गर्न सकियो । प्रत्यक्ष रुपमा बिरामीलाई पनि नहेरी शल्यक्रिया गर्न सकिन्छ ।

ओपन सर्जरीको दाँजोमा ल्याप्रोस्कोपी सर्जरीमा डाक्टरले अझै राम्रोसँग बिरामीको समस्यालाई डिटेलमा हेर्नसक्छन् । किनकी, ल्याप्रोस्कोपीका क्यामेराहरु एचडी हुन्छन्, अहिले त फोरके पनि आएको छ । इमेज म्याग्निफाइड र स्पष्ट देखिन्छ ।

सानो–सानो रक्तकोषिकाहरु पनि अझै डिटेलमा देखिन्छ । त्यस्तै, हामीले क्यामेरालाई रोटेट गरेर जुन एंगलमा हेर्नु पर्ने हो त्यही, एंगलबाट हेर्न सक्छौं ।

फाइदा

ओपन सर्जरी गर्दा धेरै चिकित्सकको टोलीमा ठूलो जनशक्ति संलग्न हुन्छ । बिरामीको छाला तान्नुपर्ने हुन्छ, धेरै अंगहरु चलाउनुपर्ने हुन्छ  जसकारण, टिस्युहरुमा चोट धेरै लागेर बिरामीलाई अपरेशनपछि पीडा हुनसक्छ ।

बिरामीको घाउमा संक्रमण फैलन संभावना पनि रहन्छ । दुखाई कम गर्न र संक्रमण निको पार्न अन्य औषधि सेवन गर्नुपर्ने अवस्था आउनसक्छ । तर ल्याप्रोस्कोपी सर्जरीमा यस्तो हुँदैन । यसमा हामीले अत्याधुनिक इनर्जी डिभाइसहरु प्रयोग गर्छौ, ती प्रविधिले चाहिएको ठाउँमा मात्रै कट गर्छन्, जसकारण टिस्यु र ट्रमा कम हुन्छ ।

मेनुपुलेशन कम भएपछि बिरामीलाई अपरेशनपछि हुने पीडा र इन्फेक्सन हुने संभावना पनि कम रहन्छ । बिरामीको अप्रेशन निकै कम समयमा हुन्छ । बिरामी चाडैं निको हुन्छ र चाडैं हिंडडुल गर्नसक्छ । अर्थात्, अस्पतालबाट चाडैं डिस्चार्ज हुन्छ ।

ल्याप्रोस्कोपी विधिबाट उपचार गर्दा रगत धेरै बग्दैन । जसकारण, शरीरमा रगतको कमी हुँदैन ।

Comments