विवाह नगरेकी आफ्नी प्रेमिकाले जन्माएको शिशु अस्पतालबाट गायब पारेको आरोपमा एक जना पक्राउ परेका छन्। उनीसँगै बच्चा गायब पार्न सहयोग गरेको अभियोगमा चिकित्सकसमेत पक्राउ परेका छन्।
प्रहरीले बच्चा गायब पार्ने प्रेमी गोविन्द राईसहित प्रसुती गराइएको विराटनगरस्थित ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण पक्राउ परेका हुन्।
यो असार १३ गतेको घटना हो। प्रहरीका अनुसार गोविन्दकी २६ वर्षीय प्रेमीकाले सोही अस्पतालमा नवजात शिशु (छोरी)लाई जन्म दिएकी थिइन् ।
अविवाहित ती युवतीले आफूलाई प्रसुती वेथा लागेपछि प्रेमीलाई खबर गरेकी थिइन्। त्यसपछि राईले ती युवतीलाई ग्रिनक्रस अस्पताल लगेका थिए।
अस्पताल लगिएकी ती युवतीलाई कर्णले चेकजाँच गरे र व्यथा अझै बढ्ने औषधि दिए। त्यसको केही समयपछि उनले नर्मल रूपमा छोरी जन्माइन्।
भोलिपल्ट असार १४ गते अस्पतालले ती युवतीलाई डिस्चार्ज गर्यो तर बच्चा देखिनन्। बच्चा नदेखेपछि युवतीले आफ्ना प्रेमी राईसँग बच्चाबारे सोधखोज गरिन।
जवाफमा गोविन्दले बच्चा अस्पतालमै रहेको र उपचारका लागि केही दिन राख्नुपर्ने बताए। बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किइन्।
‘उहाँले मलाई बच्चाबिना नै ट्याम्पोमा राखेर इटहरी पुर्याउनुभयो। बसपार्क छेउको होटलमा कोठा लिएर राख्नुभयो। बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो,’ ती युवतीले भनिन् ‘दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनुभयो। त्यसपछि फर्किएर आउनुभएन।’
त्यसपछि आफूलाई विवाह गर्छु भन्ने वाचा गरेका प्रेमी बेपत्ता भए । प्रेमी र आफूले स्वस्थ जन्माएको शिशुसमेत साथमा नभएपछि उनी प्रहरीमा पुगिन्।
उनले दिएको जाहेरीमा प्रहरीले अनुसन्धान सुरु गर्यो। अन्ततः गत शुक्रबार प्रेमी र प्रसुति गराउने चिकित्सकलाई पक्राउ परे।
पक्राउ परेका स्त्री तथा प्रसुति रोग विशेषज्ञ कर्ण कोशी अस्पतालका पूर्वप्रमुखसमेत (मेडिकल सुपरिटेन्डेन्ट) हुन् भने ती युवतीका प्रेमी २७ वर्षीय राई भोजपुर हतुवागढी गाउँपालिका–४ का बासिन्दा हुन्।
‘असार १३ मा नर्मल रूपमा २६ वर्षीया अविवाहित युवतीले अस्पतालमा बच्चा जन्माएको पाइएको छ,’ मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहालले भने, ‘त्यसरी जन्माइएको शिशु गायब भएको खुलेपछि चिकित्सक र ती युवकलाई पक्राउ गरेका छौं।’
युवतीका अनुसार बच्चा जन्मिएपछि नर्सहरूले लिएर गएको र त्यसपछि कुने जानकारी नपाएको बताइन्।
उनले भनिन्, ‘मैले जन्माएको बच्चा आजसम्म पाइनँ ।’
मोरङ प्रहरीका अनुसार ती युवतीको वास्तविक नाम अर्कै हो।
प्रहरीका अनुसार अस्पताल भर्ना गर्ने बेलामा नै युवतीको वास्तविक नाम राखेका थिएनन्। अस्पतालको पर्चीमा लेखिएको फूलकुमारी तामाङ उनको वास्तविक नाम होइन।
फूलकुमारीले जन्माएको शिशुको जिम्मा डाक्टर कर्णले लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका कर्ण बिरामी भएको भन्दै हाल कोशी अस्पतालमा भर्ना भएका छन् भने बेपत्ता पारिएको शिशु कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन।
प्रहरीले दुबै अभियुक्तलाई सँगै राखेर बयान लिएपछि सबै कुरा खुल्ने जानकारी दिएको छ।
राई र ती युवतीको दुई वर्षदेखि प्रेममा रहेको खुलेको छ। राईले विवाहको आश्वासन दिैदैं ती युवतीसँग समन्बन्ध स्थापित गर्दै आइरहेका थिए।
Comments