रवि लामिछानेको बयान काठमाडौं अदालतमा सम्पन्न, अब थुनछेक बहसको प्रक्रिया सुरू हुने

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब अदालतमा थुनछेक बहसको प्रक्रिया सुरू हुने भएको हो।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सम्पन्न भएको हो। लामिछाने अदालत खुल्नुअघि नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।

काठमाडौं जिल्ला अदालतले कास्की जिल्ला अदालतको जस्तै यदि धरौटी मागेमा लामिछाने छुट्न सक्ने सम्भावना छ भने बयान नसकिएमा वा धरौटि नमागेमा उनी अझै हिरासतमा रहने जनाएको छ।

लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ गरी ८४ दिन हिरासतमा राखिएको थियो। उनी ६५ लाख धरौटी बुझाएर बिहीबार साँझ मुक्त भएका थिए।

तर, उनको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थासँग सम्बन्धित बचत रकम हिनामिनाको मुद्दामा काठमाडौं जिल्ला अदालतमा प्रक्रिया जारी छ। लामिछाने शुक्रबार हाजिर हुनुपर्ने भए पनि समय अभावका कारण आइतबार अदालतमा उपस्थित भएका हुन्।

कास्की जिल्लामा हिरासतमा रहँदा लामिछाने शुक्रबार राति मात्र काठमाडौं पुगेका थिए, जसका कारण उनको श्रीमती निकिता पौडेलले अदालतमा हाजिर हुन नसकेको बताइन्।

काठमाडौं अदालतमा स्वर्णलक्ष्मी सहकारी संस्थासम्बन्धी रकम अपचलनको मुद्दामा लामिछानेको बयान लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई मुद्दामा प्रतिवादी बनाएर अदालतमा प्रस्तुत गर्न सुझाव दिएको थियो।

यस सहकारी संस्थाबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ अपचलन भएको आरोप लगाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *