भरतपुरको स्मार्ट सिटी योजना अन्तर्गत भूमिगत विद्युतीकरण परीक्षण सुरु

चितवन  । भरतपुर महानगरपालिकामा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।

यस परीक्षणको शुभारम्भ भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा महानगरपालिकाका प्रमुख रेनु दाहालले स्विच थिचेर गरेकी थिइन।

विद्युत् प्राधिकरणसँगको सहकार्यमा ताररहित महानगर निर्माण गर्ने उद्देश्यले शुरु गरिएको यस परियोजनाले महानगरलाई स्मार्टसिटी बनाउन मद्दत गर्ने विश्वास दाहालले व्यक्त गरिन्।

आगामी दिनमा कार्यलाई तीव्रता दिँदै छिटो सक्नका लागि महानगर प्रमुखले आग्रह गरेकी छिन्। हाल काठमाडौँपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ।

पहिलो फिडरमार्फत भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालयलाई भूमिगत विद्युत् आपूर्ति गरिएको छ। १७ वटा फिडरमार्फत छ लेन सडक र बाइपास रोडलाई ताररहित बनाइने प्राधिकरणका पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

परियोजना अन्तर्गत हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। प्रारम्भमा ३३ केभिए लाइन भूमिगत गर्ने योजना भए पनि अहिले थप ११ केभिए र ४ सय भोल्टका लाइनलाई पनि भूमिगत बनाइने तयारी गरिएको छ।

नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण कार्य सुरू भएको छ । यसमा नयाँ क्षेत्र थप भएपछि बजेट पनि वृद्धि गरिएको छ।

भरतपुर महानगरमा विद्युत् तार भूमिगत गर्नका लागि १ अर्ब ३० करोडको ठेक्का सम्झौता भएको छ भने यो कार्य भारतको टाटा प्रोजेक्ट लिमिटेडले गर्दैछ। एशियाली विकास बैंकको सहयोगमा यो परियोजना अघि बढाइएको हो । सन् २०२२ को जनवरीबाट यसको काम सुरू भएको हो। चालु आर्थिक वर्ष भित्र परियोजना पूरा गर्ने लक्ष्य राखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *